
सुनसरी । ज्वरो आएकालाई अस्पतालले भर्ना गर्न नमान्दा एक बिरामीको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवलाई विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनको समयमै उपचार नपाएर मृत्यु भएको हो ।
ज्वरो आएका यादवलाइ सुनसरी प्रहरीको सहयोगमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
तर, प्रतिष्ठानका चिकित्सकले रविन्द्रलाई बिहीबार साँझ ७ बजे मृत घोषणा गरेका थिए । समयमै अस्पताल पुर्याउन नसक्दा छोराको अकालमा मृत्यु भएको रविन्द्रका बुवा जोगीलाल यादवले बताए ।
रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न मानेका थिएनन् ।
आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो ।










