अमेरिकन आइडलमा नेपालीको धमाका, दिवेश टप १० मा

काठमाडौं । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेशले दमदार प्रस्तुति दिइरहेका छन् । उनी शोमा अमेरिकाका जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै प्रतियोगिताको टप १० मा पुगेका छन् ।

जुन स्थानलाई निकै नै महत्वपूर्ण मानिन्छ । दिवेशले आइडलको अडिसनदेखि नै दर्शक र जजहरुकाे मन जित्दै आएका थिए । उनको गायन शैली र प्रस्तुतीलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
उनको गायनलाई जर्जहरुले अहिले पनि निकै नै तारिफ गर्छन् ।

आइडलको टप १० मा छनोट भएपछि दिवेशले सामाजिक सञ्जाल मार्फत आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो सहयोग गर्नेहरुको माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि दिवेश सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए । उनले आफुलाई संगीतमा समर्पित गरेको भने  दुई वर्ष  मात्रै भएकाे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार