
काठमाडौं । जनता समाजवादी पार्टीले आफ्ना सांसद डा सुरेन्द्र यादव अपहरणको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता गराएको छ । सांसद यादवलाई अपहरण गरेको भन्दै जसपाले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको जाहेरी दर्ता गराएको हो ।
सोमबार जाहेरी दर्ता गराउन जसपाका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका थिए । उनीहरुको जाहेरी दर्ता नम्बर १०४७ रहेको छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेको थिएन । वकिल कार्यालयमा समेत जाहेरी दर्ता गर्न नमानेपछि जसपाका नेताहरु मानव अधिकार आयोगमा पुगेर उजुरी दर्ता गराएका थिए ।
त्यसपछि फेरि उनीहरु सोमबार उजुरी दर्ता गराउन सरकारी वकिल कार्यालय पुगेका थिए । अन्तत : सरकारी वकिल कार्यालयले उनीहरुको उजुरी दर्ता गरेको छ ।
बैशाख ११ गते नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वमहानिरीक्षक खनालले सांसद यादवलाई जनकपुरबाट रातारात काठमाडौं ल्याई एक होटलमा राखेका थिए ।
त्यसपछि जसपाले आफ्ना सांसदलाई अपहरण गरेको दाबी गर्दै आएको छ । तर, सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्वमहानिरीक्षक खनालले भने अपहरण नगरेको बताउदै आएका छन् ।










