
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएपछि नेताहरु पुनः समुहगत छलफलमा जुटेका छन् । पार्टीभित्रको विवाद साम्य गर्न स्थायी कमिटी बैठक बोलाउन दवाब दिने उदेश्यले बिहीबार नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले छुट्टै छलफल गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा नेताहरुले स्थायी कमिटी बैठकमा पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम र कोरोनाका कारण विदेशमा समस्यामा रहेका नेपालीको उद्दार लगायतका एजेण्डामा छलफल गर्न सकिने गरी पार्टी नेतृत्वलाई पुनः आग्रह गर्ने निर्णय भएको सहभागि एक नेताले बताए ।
यिनै एजेण्डामाथि छलफल गर्न तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने नेताहरुको भनाई छ ।
बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको स्थायी कमिटी बैठक अन्तमा आएर बुधबार स्थगित भएको जानकारी दिइएको थियो । बुधबार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी कमिटी बैठका एजेण्डा तय गर्न नसकेपछि बैठक निष्र्कषविहीन भएको थियो ।
यसअघि पार्टीका २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन दुबै अध्यक्षलाई पत्र दिइसकेका थिए । स्याथी कमिटी बैठक बोलाउन अध्यक्ष प्रचण्ड तयार रहेपनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन रहेपछि नेताहरुबीच विवाद उत्पन्न हुँदै आएको छ ।









