
काठमाडौं । कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीको लागि भारत गएका नेपालीमा कोरोना संक्रमण भएर मृत्यु भएको हाे ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार हालसम्म २८ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये केही लामाे समयदेखि भारतमै बस्दै आएका छन् भने काेही कामको लागि केही महिनाअघि मात्रै भारत गएको बुझिएको छ ।
कोरोना संक्रमण देखिएका मध्ये एक जनाको मृत्यु भएको छ, १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १५ जनाको उपचार भइरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा पाल्पा घर भएका ४५ वर्षीया पुरुष हुन् । उनी कामको सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।
शुक्रबार मात्रै बैतडीका एक २३ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।
संक्रमित पुरुष बैतडीकाे दोगडा केदार गाउँपालिकाका हुन् । उनी एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्ने बुझिएको छ ।
उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । भारतमा संक्रमण देखिएका नेपालीहरुमध्ये सबै भन्दा बढी महाराष्टमा देखिएका छन् । त्यस्तै हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ ।
रोजगारीका लागि भारतमा गएका नेपालीहरुमा कोरोनाको संक्रमण देखिन थालेको छ । तर, लकडाउनकाे बेला समस्या भएपछि अहिले पनि धेरै नेपालीहरु काम गरेर बाँचिरहेका छन् ।














