डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा मृत्य भएका १८ जनाकै सनाखत भएको छ ।
मृत्यु हुनेमा शिखर नगरपालिका ११ डोटीकी गर्भवती महिला २५ बर्षिय गोपा भाटको समेत मृत्यु भएको छ । त्यसैगरि, दिपायल सिलगढी नगरपालिका–४ कि ३५ वर्षीया सशी विक, २४ वर्षीय पदम विक, वडा नं ८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, वडा नं १० का १६ वर्षीय रोहित बलायर, १५ वर्षीय सागर बलायर, वडा नं ७ का २२ वर्षीय योगेन्द्र बोहरा र २४ वर्षीय शंकर जोरा, शारदा राउत, कैलालीको हसुलिया ३ बस्ने २८ वर्षीय नारायण चौधरी,
त्यस्तै डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७ वर्षीय टेक धामी, वडा नं ४ कि १८ वर्षीय माया रावल, कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, २० वर्षीया शारदा कडायत, सोही नगरपालिका–२ कि २१ वर्षीय केशव कडायत रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।
दुर्घटनामा परि अन्य २७ जना घाईते मध्ये १० जनाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घाईते ७ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि कोहलपुर पठाइएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले अनमोलपोष्टलाई जानकारी दिए ।
डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार साँझ डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरको मेला हेरेर फर्किइदै गरेको से १ क २९३ नम्बरको पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस सडकबाट करिब ३०० मिटर तल भिरमा खस्दा खसेको थियो ।













