
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण साउदीमा एक नेपालीको मृत्यु भएको छ । साउदी अरबको जेद्दामा कामको सिलसिलामा आउदी पुगेका नेपालीको मृत्यु भएको हो ।
जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मृतक नेपाली मदिनामा कार्यरत रहेका थिए । कोरोना संक्रमणपछि उनको उपचारकै क्रममा मृत्यु भएको दूतावासले जनाएको छ ।
जेद्दा क्षेत्रमा मात्रै ४५ जना नेपाली कोरोना संक्रमित रहेका छन् । उनीहरुमध्ये १० जना भने निको भइ फर्किएका छन् ।
दूतावासले कोरोना संक्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।
दूतावासले कोरोना संक्रमणको लक्षण देखिँदा पनि कम्पनीले बेवास्ता गरी स्वास्थ्य उपचार नगराइ छुट्टै आइसोलेसनमा बस्न बाध्य पारेमा जानकारी दिन अनुरोध गरेको छ ।
साउदी अरबमा कोरोना रोकथामका लागि साउदी सरकारले कडा नियम बनाएको छ । सबैले क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नु पर्ने छ ।














