काठमाडौं । भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएको विरोधमा नेपाल र भारतका प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा भेला भएका विभिन्न राजनीतिक दलका भातृसंगठनका युवाहरुले ओली र मोदीको पुत्ला दहन गरेका हुन् ।
‘राष्ट्रिय सीमा रक्षा अभियान’ नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको थियो । प्रदर्शनकारीमध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाइ शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा अहिले देशभर प्रर्दशन भइरहेका छन् । काठमाडौंका विभिन्न स्थानमा दिनहु भारतबिरुद्ध प्रर्दशनहरु भइरहेका छन् ।