
दार्चुला । सीमा सुरक्षा पोष्ट स्थापना भएको भोलीपल्टैदेखि कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीले गस्ती सुरु गरेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा हिजो मात्रै स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत सुरक्षाकर्मीको टोलीले गस्ती सुरु गरेको हो ।
टोलीले छाङरु, महाकारी नदी किनारा हुँदै सीमा वरपरको क्षेत्रमा गस्ती गरेको बताइएको छ । पोष्ट स्थापनाका लागि छाङरु पुगेका गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा इन्द्रजित राईले सीमा क्षेत्रमा रहेका भारतीय एसएसबीका प्रतिनिधिसंग कुराकानी गरेका छन् ।

छाङरु नजिकै महाकाली नदी माथिको काठेपुल (सीतापुल) मा सुरक्षा सल्लाहकार प्रा.डा राईले एसएसबीका प्रतिनिधिसंग कुराकानी गरेका हुन । राईसंगै बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी थिए ।
छाङरुमा बुधबार मात्रै काठाडौंबाट सेनाको हेलिकोप्टर गएर बीओपी स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि सरकारले अहिले प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको सशस्त्र प्रहरीको टोली छाङरुमा खटाएको छ ।
विकट क्षेत्र भएकाले पोष्टमा ६ महिनाका लागि चाहिने आवश्यक बन्दोबस्तीका सरसमान, हातहतियार र केहि मेडिकल सामाग्री समेत हेकिकोप्टरमार्फत ओसारिएको छ ।
शुक्रबार भारतले दार्चुलास्थित नेपाली भूमी लिपुलेकमा एकलौटी रुपमा सडक बनाएर उद्घाटन गरेपछि त्यसको देशभर चर्को विरोध भएपछि सरकारले तत्काल सीमा सुरक्षा पोष्ट स्थापना गरेको हो ।
भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । जसका बिषयमा नेपालसंग भारतले कुनै छलफल गरेको थिएन ।
सडक उद्घाटन भएको अर्को दिन परराष्ट्र मन्त्रालयले भारतलाई लिपुलेक नेपालको भूमी भएकाले त्यहाँ भइरहेका भारतिय गतिविधी तत्काल रोक्न आग्रह गरेको थियो ।
लिपुलेक–कालापानी लगायतका अतिक्रमित नेपाली भूमीबारे सरकारले हिजो (बुधबार) सर्वदलिय बैठक समेत गरेको थियो ।
बैठकमा सहभागि राजनितीक दलहरुले भारतद्धारा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत अन्य अतिक्रमित भूभाग कुटनीतिक पहल गरी वार्ताका माध्यमबाट फिर्ता लिने निर्णय गरेका थिए । सोहि अनुसार सरकार अघि बढ्ने छ ।









