
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार बाँकेमा थप ४७, मोरङ बिराटनगरमा १, गुल्मीमा १ जना र धुलिखेल अस्पतालमा ४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
बाँकेमा भेटिएका ४७ जनामध्ये ४६ जना पुरुष र एकजना महिला रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार मोरङ, गुल्मी, धनुषा, दाङ र रौतहटमा एक / एक जना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनिहरु सबै पुरुष हुन । उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका प्रवक्ता देवकोटाले बताए ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।
बाँकेका भेटिएका ४७ जनाको कोरोना परीक्षण भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको हो भने मोरङका संक्रमितको परीक्षण विराटनगरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको हो ।
त्यसैगरी गुल्मीका संक्रमतिको परीक्षण भैरहवा अस्पतालको प्रयोगशालामा गरिएको मन्त्रालयले जनाएको छ । अन्य चार जनाको कोरोना परीक्षण भने काभ्रेस्थित धुलिखेल अस्पतालमा गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसअघि आजै बिहान रौतहटमा ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका २५ वर्षीय पुरुष रहेका छन् । महिलाको बिहीबार राती मृत्यु भएको थियो भने पुरुषको आइतबार बिहान मृत्यु भएको थियो ।










