
काठमाडौं । गुल्मीका कोरोना संक्रमितको मृत्यु नभई अवस्था गम्भिर रहेको अस्पतालले पुष्टि गरेको छ । बुधबार दिउँसो संक्रमित उपचाररत क्रिमसन अस्पताल बुटवलले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था गम्भिर रहेको भएपनि मृत्यु नभएको पुष्टि गरेको हो ।
अस्पताल प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “विरामीको यस अस्पतालको आइसियू कक्षमा भेन्टिलेटर सर्पोटमा उपचार भइरहेको र निजको अवस्था गम्भिर रहेको जानकारी गराउँदछौं ।”
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ वर्षीय पुरुषको हिजोदेखि अवस्था गम्भिर रहेको छ ।
अवस्था गम्भिर रहेको भएपनि उपचारमा संलग्न चिकित्सकको टोलीले अहिलेनै मृत्यु भन्न नसकिने जानकारी दिएको अस्पतालका प्रमुख चिन्तामणी पाण्डेयले अनमोलपोस्टलाई बताए ।
“संक्रमितको अवस्था गम्भिर रहेको खबर आएपछि हिजोदेखि नै मृत्यु भन्ने हल्ला चलेको थियो, आज बिहान पनि उहाँको अवस्था स्थिर रहेपछि ३ जना डाक्टरहरुको टोलीले बिहान जाँच गर्नुभयो । अवस्था स्थिर नै छ । तर, अहिले नै मृत्यु भन्न सकिन्न,” अस्पतालका प्रमुख पाण्डेयले टेलिफोनमा अनमोलपोस्टसंग भने ।
स्वास्थ्यमा समस्या देखिएपछि जेठ १ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएका थिए । उनलाई कोरोना संक्रमण भएको रिर्पोट भने जेठ ५ गते आएको थियो ।
यसअघि बिहान उनको मृत्यु भएको खबर विभिन्न अनलाइन मिडियामा आएको थियो । त्यसपछि उनि अपचाररत अस्पतालले उनको मृत्यु नभई अवस्था गम्भिर रहेको पुष्टि गरेको हो ।
(यसअघि त्रुटीपुर्ण सूचनाका कारण उनको मृत्यु भन्ने गलत समाचार प्रकासन भएको प्रती क्षमा प्रार्थी छौं । )











