
काठमाडौं । कोरोना जितेर थप ४ जना घर फर्केका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बिहीबार ४ जना डिस्चार्ज भएर घर फर्केका हुन । निको हुनेमा २ जना भक्तपुर र २ जना काठमाडौंका रहेको छन् ।
उनीहरुमा २ पुरुष र २ जना महिला रहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए ।
उनिहरुमध्ये २३ वर्षीय महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाअनुसार उनीहरु ९ दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन ।
निको भएर घर फर्केकामध्ये एक जना ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेशनकी महिला कर्मचारी पनि रहेकी छन् । फाउन्डेशनकी ती कर्मचारीलाई वैशाख ३१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
थप ४ जना निको भएसंगै हालसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ४९ पुगेको छ ।










