काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् ।
शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन ।
सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।
मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको अध्यक्ष प्रचण्ड समक्ष जानकारी गराएकी थिइन ।
नेपालको निसान छापमा रहेको पुरानो नक्सा परिर्वतन गर्न संविधान संशोधनका लागि सरकारले हिजो संसदमा संशोधन प्रस्ताव दर्ता गरिसकेको छ ।
भूमि व्यवस्था मन्त्रालयले बुधबार औपचारिक रुपमा लिपुलेक कालापानी र लिम्पियाधुरासहितको नयां नक्सा सार्वजनिक गरेको थियो ।
सोमबारको मन्त्रिपरिषद्को बैठले नयां नक्सालाई पारित गरेको थियो । नयाँ नक्साअनुसार अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।










