

काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा मन्त्रालयको आगामी वर्षको बजेट र कार्यक्रमले शिक्षा क्षेत्रलाई र सांसदहरूलाई निराश बनाएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता र संविधान विरोधी भएको भन्दै टिप्पणी समेत गरेका छन् ।
गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भन्दै ५ अर्ब बजेट छुट्याएको ठाउँमा यो बर्षको कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको भन्दै उनले आपत्ति समेत जनाए ।
“हामीले शिक्षामन्त्रीलाई भनेर के अर्थ ? उहाँ आफैं दुःखी हुनुहुन्छ । आफैं पीडित हुनुहुन्छ । अर्थमन्त्रीले श्रेष्ठता देखाउनुभयो, हेप्नुभयो भन्दै गर्दा शिक्षामन्त्रीलाई के सोध्न मन लागेको छ भने, ‘राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस बाँडेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने कार्यक्रम संघीयता विरोधी छ । संविधान र व्यवस्था विरोधी छ । यस्तो कार्यक्रममा गतवर्ष ५ अर्ब छुट्याइएकोमा यसवर्ष बढाइएर ६ अर्ब बनाउने ?,” उनले संसदमा प्रश्न गरे ।
शिक्षा मन्त्रालयको अध्ययनले ५७ हजार शिक्षक अभाव भएको देखाए पनि त्यसअनुसार सरकारबाट बजेट नआएको सांसद थापाले बताए ।
“एसईई खारेज गरौं, केही बोल्ड डिसिजन गरौं र यो वर्ष विद्यार्थीको व्यवस्थापन गरौं भनेर लगातार मन्त्रीलाई भन्दा यै हो बजेट ? यै हो कार्यक्रम ? त्यसैले, यसले थप निराश बनाएको छ”, उनले भने ।











