
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेका थिए ।
उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए ।
कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित गर्नेछ ।
संघीय संसदका दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।










