काठमाडौं । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पहिरोमा परी अझै चार जना बेपत्ता भएका छन् ।
गएराति पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरो गएर घटना भएको हो । पहिरोमा परी बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजि रहेको छ ।
पहिरोमा परी ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको हिजो राति नै शव भेटिएको थियो । त्यस्तै आज बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको छ ।
थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् ।