४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारियो–मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारेको बताएका छन् ।
एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् ।

कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम मात्र भएको उनको भनाई छ।

“हामीले त ३०/ ४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुखले बर्बाद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद पारेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के गर्‍यौं गर्‍यौं । यो कृषि व्यवस्था बिगार्नका लागि”, मन्त्री भुसालले भने ।

लामो समयसम्म विभिन्न तरीकाबाट ध्वस्त पारिएको कृषी क्षेत्रलाई सुधार्न केही समय लाग्ने उनले बताए ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली विग्रेको मन्त्री भुसालले बताए । किसानका परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको मन्त्री भुसालले बताए ।

“कृषि प्रधान देशमा अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने दिन आए”, उनले भने ।
कोरोना महामारीले कृषि नै जीवन हो भनेर ब्यूँझाएकाले यसबाट सिकाएको पाठ विर्सिने गल्ती गर्न नहुनेमा उनले जोड दिए । नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार