
चौतारा । सिन्धुपाल्चोकमा गएको बुधबार राति आएको बाढीपहिरोमा परी बेपत्ता भएका २० जनाको खोजी कार्य जारी छ । बेपत्ता भएका २० जना बाढीपहिरो आएको एकसाता पुग्नै लाग्दा पनि नभेटिएपछि खोजी जारी राखिएको हो ।
गएको बुधबार राति आएको बाढीपहिरोमा परी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बु र भोटेकोशी गाउँपालिका ५ बुलकोटेमा तीन जनाको मृत्यु भएको छ भने २० जनाको बेपत्ता भएका छन् ।
चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव नभेटिएपछि भोटेकोशीले बगाएको आशङ्का गरिएको छ । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेको खोजी कार्यमा संलग्नको भनाई रहेको छ ।
उनीहरुको उद्धारकार्यका लागि काठमाडौँबाट २५ सदस्यीय टोली भने मङ्गलबार फर्किसकेको छ ।










