
ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यातायात व्यवसायी र मजदूरका समस्या सरकारले बुझ्नु पर्ने बताएका छन् । उनीहरुको समस्या समाधानका लागि उचित राहतको व्यवस्था गर्नुपर्ने बताए ।
बिहीबार विहान उनकै निवासमा भेट्न पुगेको कार्यदलसँग उनले यस्तो बताएका हुन् । उनले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’
उनले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताएका छन् ।
त्यस्तै व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् ।
यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि केही समयअघि एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले बिहीबार अध्यक्ष निवास खुमलटारमै पुगेर कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे अध्यक्ष दालहको ध्यानाकर्षण गराएको थियो ।










