काठमाडौं । यातायात मजदुरको कोरोना बिमा हुने भएपछि साउन ७ गतेबाट सार्वजनिक यातायात संचालन हुने भएको छ । सोमबार यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच भएको छलफलमा यातायात मजदुरको कोरोना बिमा गर्ने सहमति जुटेपछि सार्वजनिक यातायात संचालन हुने भएको हो ।
सहमतीअनुसार कोरोना बीमाको आधा रकम सरकारले र आधा यातायात व्यवसायीले ब्यहोर्ने छ भने कोरोनाका कारण कुनै मजदुरको मृत्यु भए क्षतिपूर्ति दिन कोष बनाउन विभागले मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
उनका अनुसार सवारी चलाउँदा मास्क, पीपीई, ग्लोब्स, स्यानिटाइजरलगायतका सुरक्षा सामग्री यातायात व्यवसायीहरुले नै दिनेछन् । ‘दुई साता काम गर्दा कुनै यातायात मजदुरमा कोरोना लक्षण देखिएमा सरकारको मापदण्ड अनुसार परीक्षण गर्ने सहमति पनि भएको अध्यक्ष राईले जानकारी दिए ।
छलफलबाट ४ वटा निष्कर्षहरू :
१. यातायात श्रमिकहरूको समुह कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा तिरिदिने ।
२. यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने ।
३. यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ९मास्क, स्यानिटाईजर, पन्जा, पिपिई० सम्बन्धीत व्यवसायीले उपलब्ध गराउने ।
४. लामो, छोटो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभाग मार्फत सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने ।