
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको भन्दै उनको स्मरण गरेका छन् ।
पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको कम्युनिस्ट पार्टी एकताको चाहाना धेरै हदसम्म पूरा भएको बताएका छन् ।
‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।
पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापना भएको उनले स्मरण गरेका छन् ।
“पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भयो । यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो । ” ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफुहरुले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको ओलीको भनाई छ ।
‘विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हाँसिल गरेको छ । पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं,’ ओलीले विज्ञप्तिमार्फत भनेका छन् ।
नेपाली राजनीति र बिशेषगरी कम्युनिष्ट पार्टी स्थापना र आन्दोलनमा पुष्पलालको योगदानको स्मरण गर्दै आज ४२औँ स्मृति दिवस देशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
पुष्पलाल लगायत नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य र नारायणविलास जोशीले २२ अप्रिल १९४९ अर्थात २००६ साल बैशाख १० गते शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा जन्मेका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।










