बाघ नेपालको पहिचान : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ नेपालको पहिचान भएको बताएका छन् । उनले नेपालीको पहिचान बाघको संरक्षण  गर्न सकेमात्रै नेपालीको शान झल्कने बताए ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले बाघको संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भिडियो मार्फत भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु । मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन ।’

नेपाल सरकारले सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन लक्ष्यका साथ काम गरिरहेको उनले बताएका छन् । यसका लागि तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर बाघ संरक्षणका गतिविधि सन्चालन गर्दै आएको जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् ।

बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरेका छन् । सोही अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर बनाउनेमा आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताए ।

यसका साथै उनले बाघको संख्या बढ्दा समुदायमा केही समस्या हुने भएकाले  बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार