
स्याङ्जा । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो ।
छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले पनि निषेधाज्ञा थपिएको जनाइएको छ । तर बैठकले यसअघिको भन्दा केही खुकुलो बनाउँदै निषेधाज्ञा थपेको हो ।
बैठकले एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
त्यस्तैगरी कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन गर्न पाउने छन् । तर अन्तर जिल्ला भने जान पाइने छैन् ।
अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको छ ।










