काठमाडौँ । कंचनपुरकी निर्मला पन्तको हत्याकाण्डमा पक्राउ परेका प्रदीप रावलले आफुलाई प्रहरीले यातना दिएको खुलासा गरेका छन ।
थुनाबाट बुधबार रिहा भएपछि अनमोलपोस्टलाई बिशेष अन्र्तवार्ता दिदै प्रदीपले थुनामा रहँदा आफुलाई प्रहरीले पाइपले खुट्टाको पैतलामा हान्ने, धम्काउने र आरोप स्विर्कान लगाउने गरेको बताएका हुन ।
खुट्टाको पैतलामा हान्थे, निर्मलाको हत्यारा हुँ भन भनेर कवुल गराउँथे प्रदीपले भने, “माइतीघरमा यहि हो निर्मलाको हत्यारा भनेर सबैलाई भन्छौं, अनि भाग्न लगाएर गोली हान्छौं, र निर्मलाको हत्यारा भाग्न लाग्दा गोली लागेर मर्यो भनेर पत्रिकामा छाप्न लगाउँछौं भन्थे ।”
आफुलाई निर्मलाबारे केहि थाहा नभएको तर प्रहरीले धम्काएपछि, कुटेपछी मात्रै आरोप स्विकारेको प्रदीपको भनाई छ ।
‘निर्मलालाई म चिन्न पनि चिन्दिनथे उनको घटना भएको मैले महेन्द्रनगरमा आन्दालन भएपछि मात्रै थाहा पाएको हुँ प्रदीपले भने, प्रहरीले गरिबलाई मात्रै दुख दिन्छ, फसाउन खोज्दैछ ।’
निर्मलाको हत्यामा संलग्न भन्दै प्रदीपलाई प्रहरीले गत मङ्सिर १७ गते काठमाडौंको सुन्धारास्थित एक खाजा पसलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका रावललाई सोधपुछ र उनको डिएनए परिक्षणपछि निर्मलाको भेजाईनल स्वाबसंग मेल नखाएको प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा बुधवार उनी तारेखमा रिहा भएका थिए ।
प्रदीपलाई प्रहरीले पक्राउ गरेपछि अनुसंन्धान गर्ने भन्दै दिनभर केन्द्रीय अनुसन्धान ब्युरोमा राख्ने र साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजको थुनावा कक्षमा राख्दै आएको थियो ।
प्रदीपलाई माघ १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर हुनेगरि तारेखमा रिहा गरिएको र उनिमाथी लागेको मुद्धाको पुर्ण सफाई पाउन अझै केहि महिना लाग्न सक्ने उनका कानूनी सहयोगी बद्री प्रसाद भुषालले जानकारी दिए ।
प्रदीपलाई दिइएको यातनाबारे कानून ब्यवसायी भुषालले भने, ‘थुनामा रहेका प्रदीपलाई प्रहरीले अनुसंन्धानका नाममा दिएको यातना मानवअधिकारको घोर उलंघन हो र थुनुवा सम्बन्धी विश्वब्यापी कानून र मान्यताको समेत प्रहरीले खिल्ली उडाएको छ ।’
साथीको घरमा गत साउन १० गते होमवर्क गर्न भनेर गएकी कञ्चनपुरको उल्टाखामकी १३ बर्षिय निर्मलाको शव अर्को दिन ११ गते भीमदत्त नगरपालिका १८ स्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनापछि अनुसंन्धान गर्ने भन्दै अहिलेसम्म विभिन्न टोलीहरु गठन भइसकेका छन । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कंचनपुरले छुट्टाछुट्टै अनुसन्धान टोली बनाए पनि उपलब्धी शुन्य छ ।
घटनामा लापरवाही गरेको भन्दै डेढ दर्जन प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ तर, निर्मलाको हत्यारा पत्ता लगाउनमा प्रहरी चुक्दै आइरहेको छ ।
प्रदीपसंगको बिशेष अन्र्तवार्ता हेर्नुहोस र भिडियोमा प्रतिकृया लेख्नुहोस ।