कुलमानको कार्यकाल थप्न उर्जामन्त्री पुन सकारात्मक, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई नै दोहोर्याउन उर्जामन्त्री वर्षमान पुन सकारात्मक देखिएका छन् । कुलमानको कार्यकाल थप गर्नु पर्ने चौतर्फी दबाव आइरहेका बेला पुन पनि सकारात्मक देखिएका हुन् ।

उनले कुलामानकै कार्यकाल दुई वर्ष थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएका छन् । आज बस्ने मन्त्रिपरिषद बैठकमा पुनले उनको प्रस्ताव लैजान लागेका एक स्रोतले जनाएको छ ।

खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ।
यसअघि देखि नै कुलमानलाई निरन्तरता दिनुपर्छ भन्दै सामाजिक सञ्जालमा दबाव बढीरहेको छ । कुलमानको म्याद सकिन लाग्दा सरकारले थप गर्ने कुनै चासो नदेखाएपछि  सरकारको विरुद्धमा आवाज समेत उठ्न थालेका छन् । तर उर्जामन्त्री पुनले भने कुलमानलाई नै थप दुई वर्ष निरन्तरता दिने प्रस्ताव गर्ने बुझिएको छ ।

कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेको बुझिएको छ ।

कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो।

कुलमान नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै, कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा छ। उनको कामको धेरैले प्रशंसा समेत गरिरहेका छन् । उनले गरेको कामले नै फेरि निरन्तरता पाउनु पर्छ भन्ने आवाज धेरै उठिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार