सामुहिक बलात्कारमा परेकी युवतीद्धारा न्याय नपाएपछि आत्महत्या


सप्तरी । सामुहिक बलात्कारमा परेकी एक युवतीले आत्महत्या गरेकी छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका ७ ललितपुरकी १७ वर्षीया किशोरीले बलात्कारीकालाई उचित कारवाही नगरेको भन्दै मंगलबार आत्महत्या गरेकी हुन् ।

गएको सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी ति किशोरीलाई ४ जनाले सामुहिक बलात्कार गरेका थिए । आफुलाई बलात्कार गर्नेविरुद्ध किशोरीले प्रहरीमा उजुरी दिन खोज्दा गाउँलेले चेतावनी दिदै रोकेका थिए ।

पीडित किशोरीको परिवारका अनुसार गाउँलेले उजुरी दिनु भन्दा पनि गाउँमै मिल्न दबाब दिएपछि उनले आत्महत्या रोजेकी हुन् । न्याय खोजिरहेकी किशोरीले गाउँलेकै दबावका कारण आत्महत्या गरेको उनकी आमाले बताएकी छन् ।

४ जना विरुद्ध उजुरी दिन घरबाट हिंडेकी किशोरीलाई रोकेर गाउँलेले पञ्च बोलाएर गाउँमै मिलाएका थिए । किशोरीलाई पञ्चको निर्णय चित्त नबुझेपछि तनाबमा रहेकी उनले आत्महत्या गर्न बाध्य भएको प्रहरीले जनाएको छ । गाउँलेले किशोरीकी आमालाई पनि धम्की दिने काम गरिरहेका थिए ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन्।

घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति ५५ हजार भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीको अनुसन्धान टोलीले किशोरीलाई बलात्कार भएको घटना स्थलको पनि निरीक्षण गरेको छ । घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार