स्याङ्जा । लगातारको वर्षाका कारण पहिरो जाँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । जिल्लाका दुई वटा ठाउँमा गएको पहिरोमा दुईको मृत्यु भएको हो भने ८ बेपत्ता भएका हुन् ।
जिल्लाको वालिङ नगरपालिका १४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।
तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि पहिरोले घर पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।