कुलमान विदाईसंगै बत्ती गइरहने गुनासो बढेपछि ऊर्जामन्त्रीले दिए कडा निर्देशन


काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले केही दिनदेखि बत्ती जाने गुनासो बढेको बिषयमा तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले बिहीबार मन्त्रालयमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, उपकार्यकारी निर्देशक लगायतलाई बोलाएर समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल मन्त्रालयलाई जानकारी दिन समेत भनेका छन् ।

हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा मन्त्री पुनको भनाई छ।

कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि बत्ती जाने समस्या भएपछि विद्यार्थीको पढाइमा असर पर्ने भएकाले गम्भीर भएर समाधान गर्न निमित्त कार्यकारी निर्देशक कोइरालालाई निर्देशन दिए ।
कुलमान घिसिङको विदाई भएसंगैं काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा बत्ती जाने समस्या बढेको भन्दै जनगुनासो आइरहेका छन् ।

देशलाई १८ घण्टा लोड सेडिङबाट मुक्त गरेर निरन्तर घाटामा गएको विधुत प्राधिकरणलाई कुलमानले नाफा लगेको र अन्य थुर्पै राम्रा योजना सुरु गरेकाले उनलाई नै पुनः प्राधिकरण कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने जनताको माग रहेको छ । तर, सरकार यसबारे सकरात्मक नदेखिएको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार