असइ र प्रहरी जवानका हत्या आरोपी ७ जना सार्वजनिक, दिए डरलाग्दो बयान

कैलाली । कैलालीको सीमा क्षेत्रमा डिउटीमा खटिएका प्रहरी सहायक निरिक्षक (असइ) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या गरेको आरोपमा ७ जनालाई सार्वजनिक गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले संचारकर्मीमाझ असइ विक र प्रहरी जवान साउँदको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय मनिवास राना, २० वर्षीय राजेन्द्र राना र वडा नम्बर ११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

घटनापछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान गर्दा ७ जनाको संलग्नता देखिएपछि कारवाही सुरु गरेको प्रहरीले जनाएको छ ।

गत शनिबार राती पौने ९ बजे असइ विक र जवान साउँद भारतसंगको सीमा क्षेत्र मोहना नदी क्षेत्रमा गस्तीमा खटिएका बेला राती १० बजेपछि सम्पर्क विहीन भएका थिए । आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्दा नदीमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो ।

आइतबार दिउँसो असइ विकको घाँटी रेटेर हत्या गरिएको अवस्था मोहना नदीमा शव भेटिएको थियो भने जवान साउँदको शव मंगलबार नदीमै फेला परेको थियो ।

मोहना नदीको घाट भएर नेपालबाट भारत तर्फ मटर तस्करी गरिरहेको बेला असइ विक र जवान साउँदले अबरोध गरेपछि उनीहरुले दुवैको हत्या गरेर नदीमा फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आरोपी ७ जनाउपर ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार