हलचल मच्चाएर ‘रअ’ प्रमुख दिल्ली फर्किए, नेताहरुलाई स्पष्टिकरण दिन आफत

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ) ‘ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा हलचल मच्चाएर दिल्ली फर्किका छन् । करिब २१ घण्टापछि बिहीबार बिहान सवा १० बजे नेपाल भ्रमण सकेर उनी दिल्ली फर्किएका हुन् ।

रअ प्रमुख गोयल भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानमार्फत स्वदेश फर्किका छन् । उनी बुधबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए ।

सत्तारुढ दलका शिर्ष नेताहरुलाई कुनै जानकारी नै नदिई फिल्मी शैलीमा आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेको बताइएको छ । उनले प्रधानमन्त्री ओलीलाई बुधबार राती नै बालुवाटारमा भेटेको बताइएको छ । यद्यपी यसबारे सरकारका तर्फबाट कुनै आधिकारीक जानकारी बाहिर आएको छैन् ।

रअ प्रमुख गोयलको भ्रमणका सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको नेपाली सेनाले बताइसकेको छ । नेपालसंगको सीमा विवाद समाधान गर्न भारत तत्पर नदेखिएको बेला एकाएक रअको गोप्य नेपाल भ्रमणलाई नेपाली राजनीतिमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

गोयल यसअघि सन् २०१९ को जुलाईमा नेपाल आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल सरकार दुवै पक्षले गोप्य राखेका छन् ।

प्रमुख गोयलले नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायतलाई पनि भेटेको बताइए पनि यसबारे प्रष्ट भएको छैन् ।

अध्यक्ष प्रचण्डलाई भेटेको भन्ने खबर सत्य नभएको उनका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले स्पष्ट पारेका छन् ।

“रअका प्रमुख गोयलले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरे भन्ने प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, प्रेस सल्लाहकार सापकोटाले भने, ‘सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।”

नेकपा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफुले रअ प्रमुखसंग नभेटेको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार