
सुर्खेत । कर्णाली प्रदेश सरकारले एक अर्को जनतामुखी निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ ।
प्रदेशका डोल्पा, मुगु र हुम्लाका गम्भिर संक्रमितलाई हेलिकप्टरमार्फत उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।
गम्भिर संक्रमितको जिल्लामा उपचार सम्भव नभए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा ल्याउर उपचार गरिने निर्णय भएको समेत शाहीले बताए ।
संक्रमितको उद्धारका लागि सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने जनाएको छ । त्यस्ता गम्भिर प्रकृतीमा संक्रमित बिरामीको उद्धारका लागि एक करोड बजेट समेत छुट्याएको मन्त्री शाहीले जानकारी दिए ।
कर्णाली सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिने निर्णय समेत गरेको छ ।










