
काठमाडौं । रौतहट बम काण्डका योजनाकार एंव नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले थुनछेक बहस सकिएपछि शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जनाले थुनछेक बहस गरेका थिए ।
ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए । आलमलाई बचाउनका लागि पिडितलाई बन्दक बनाएर बयान फेर्न लगाइएको थियो । तर अदालतले उनलाई थुनामा राख्ने आदेश दियो ।
शुक्रबार जिल्ला अदालत रौतहटमा वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, विनोद पटेलले बहस गरेका थिए ।
यसअघि अलामको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ताहरु युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेलगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै ईटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए । पक्राउसँगै प्रहरीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो ।
सो घटनामा संलग्न अन्य १० जना भने फरार छन् ।
बम विष्फोटमा मारिएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ ।












