मुख्यमन्त्री राउतको ओली सरकारलाई चेतावनीः ‘गिट्टि, बालुवा बेच्ने घोषणा सच्याऊ, तराईलाई मरभुमि बन्न दिनौं’


काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारलाई चुरेबारेको घोषणा नसच्याए गम्भिर निर्णय लिने चेतावनी दिएका छन् । केपी ओली नेतृत्वको केन्द्र सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णयले नेपालको तराई क्षेत्र मरभुमिकरण हुँदै जाने भन्दै उनले निर्णय सच्याउन आग्रह गरेका हुन् ।

चुरे दोहनका कारण बर्षेनी तराई, मधेस क्षेत्रमा बाढी, डुबान र कटानले ठुलो क्षती गर्दै आइरहेका बेला चुरे संरक्षण गर्नुपर्ने सरकारले उल्टै गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्नु जनताप्रति जिम्मेवार नभएको मुख्यमन्त्री राउतको भनाई छ ।

उक्त निर्णय तत्काल नसच्याए प्रदेश २ सरकारले तराईलाई मरुभुमिकरण हुनबाट बचाउन आवश्यक निर्णय लिने समेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

“वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणका साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतद्धारा जारी विज्ञप्तिमा भनिएके छ, ‘तसर्थ, नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह छ । यस्तो कार्य तत्काल नरोकिए तराई–मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।”

चुरेबारेको केन्द्र सरकारको निर्णयले देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

केन्द्र सरकारले हालै घोषणा गरेको बजेट वक्तव्यमा वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने बताएको छ । यसको चौतर्फी आलोचना भइरहेको छ ।

मुख्यमन्त्री राउतद्धारा जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार