
कैलाली । सुदूरपश्चिममा पनि ब्ल्याक फंगस (कालो ढुसी) नामक रोगको संक्रमण भेटिएको छ । जसबाट कैलालीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसारमा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको हो ।
संक्रमण भएपछि जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना उनको उपचार भइरहेको थियो । ती व्यक्तिमा कोरोना भाईरसको संक्रमण छकी छैन् भन्नका लागि पीसीआर समेत गरिएको तर रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
के हो ब्ल्याक फंगस ?

ब्ल्याक फंगस एउटा संक्रमणात्मक रोग नै हो । मानिसको शरिरमा रोगसंग लड्ने क्षमता कमजोर भएमा यसले आक्रमण गर्दछ ।
चिकित्सकका अनुसार यो छालामा चोटपटक, स्क्राच, जलन वा अन्य प्रकारका छालामा हुने आघातको माध्यमबाट शरिरमा प्रवेश गर्छ । यो नाक, मुख, आँखा हुँदै शरिरमा प्रवेश गरेर दिमागलाई असर गर्ने गर्दछ र मानिसको ज्यानै लिन सक्दछ ।
कोरोना संक्रमण फैलिएपछि भारतका विभिन्न ठाउँमा ब्ल्याक फंगस देखा परेको छ र यसले त्यहाँ धेरैको ज्यान पनि लिएको छ । पछिल्लो समय यसको संक्रमण नेपालमा पनि देखा पर्न थालेको छ ।
चिकित्सकका अनुसार कोरोना संक्रमण निको भइरहेका वा बिरामी भएकामा यो देखा परिरहेको छ ।
कोरोना वाहेक यो संक्रमण मधुमेह रोगीलाई पनि देखा परिरहेको छ ।
लक्षण कस्ता ?
ज्वरो आउने, आँखा र नाक वरपर रातो हुने र दुख्ने, रगत बान्ता हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा धमिलो वा डबल दृष्टि, छाती दुख्ने, मुखको माथिल्लो भागमा कालो धब्बा, अनुहारमा दुखाई, दिमागी समस्या आदि ।
कसरी बच्ने ?
-नाक मुखलाई सफा राख्ने ।
-सफा मास्कले नाक मुख राम्ररी छोप्ने ।
-पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने ।
-मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।
-नुनिलो पानीले नाक मुख सफा गर्ने ।
-स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्ने ।










