काठमाडाैं । आज बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसदको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा विधेयक पास गरेको हो ।
कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । सभामुखले कांग्रेस सांसदहरुलाई धैर्य गर्न आग्रह गर्दा पनि कांग्रेसले अडान नछोडे पछि बहुमतका आधारमा विधेयक पास गरिएको थियो ।
डा.केसीद्धारा प्रधानमन्त्रीको राजिना माग ।।
विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको राजीनामा मागका हुन् ।
डा. केसीले विज्ञप्ती मार्फत सरकारले आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै नैतिक रुपमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन् । यस अघि सरकारले प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेकाले अब डा. केसीले अनसन तोड्न आग्रह गरेको थियो । उक्त आग्रहलाई उनले अस्वीकार गरेका छन् र आमरन अनसन कायमै राख्ने बताएका छन् ।