
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्त ठाकुरको पद गएको छ । निर्वाचन आयोगलाई पठाइएको पत्रअनुसार उनको अध्यक्ष पद गएको हो । त्यस्तै आयोगमा दल आधिकारिकताको बिषयमा भएको हेड काउन्टमा ठाकुरको पक्षमा मत दिने केन्द्रीय कार्यकारिणी समितिबा १६ जनालाई पनि जसपाले हटाएको छ ।
एकल अध्यक्षमा जाने र पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति कायम राख्नेगरी जसपाले आयोगलाई पठाएको पत्रअनुसार आयोगले उक्त निर्णय सदर गर्दै दल दर्ता किताबमा अध्यावधिक गरेको आयोगले जनाएको छ । दल दर्ता किताबमा उक्त कुरा अध्यावधिक गरिएपछि ठाकुरको अध्यक्ष पद स्वतह गएको छ । तर, नेता ठाकुर आफूलाई जसपाको अध्यक्ष नै भन्दै जिल्ला दौडाहामा लागेका छन् ।














