काठमाडौं । काठमाडौं जिल्ला अदालतका नासु भोलानाथ चालिसे पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहिसँग घुस लिँदै गरेको अवस्थामा नासु चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रक्राउ गरेको हो ।
मुद्दा मिलाउन पैसाको चलखेल भइरहेको थाहा पाएपछि अख्तियारको टोली जिल्ला अदालत काठमाडौं पुगेको थियो । टोलीले चालिसलाई उनकै कार्यकक्ष बबरमहलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका नासु चालिसे नेपाल निजामती कर्मचारी संगठन काठमाडौंका उपाध्यक्ष समेत रहेको बताइएको छ । नासु चालिसे विगत ३ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए । उच्च अदालत पाटनमा सरुवा भए पनि अटेर गरी उनी पुनः जिल्ला अदालतमै बसेका थिए ।