काठमाडौं । विप्लव समूहले सोमबार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा पनि परेको छ । बन्दका कारण सार्वजनिक सवारी साधन चलेका छैनन् भने, पसल, विद्यालय, कलेज र कार्यालयहरु पनि बन्द गरिएका छन् ।
बन्दको प्रभाव काठमाडौंको तुलनामका उपत्यका बाहिरका जिल्लाहरुमा भने बढी देखिएको छ । बन्दको एक दिनअघि नै आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था कडाई पारेको छ । सरकारले सुरक्षा व्यवस्था कडा पारेको भएपनि सर्वसाधारणलाई भने बन्दको त्रास उपत्यकामा देखिएको छ ।
बन्दका कारण काठमाडौं उपत्यकामा थोरै सवारी चलेकाले सर्वसाधरणलाई आवतजावतमा समस्या भएको छ । साथै काठमाडौंबाट उपत्यका बाहिर जाने कुनै पनि सवारी साधन चलेका छैनन् ।
विप्लव समूहले उपत्यका बाहिर ठाउँ ठाउँमा बम राखेका कारण स्थानीय त्रसित बनेका छन् ।
सुर्खेतमा यात्रुबसमा आगजनी
विप्लव समूहले सोमबार विहान पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा आगजनी गरेका हुन् ।
विप्लव समूहका कार्यकताले राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुलाई ओरालेर आगजनी गरेको बताइएको छ । आगजनीबाट मानविय क्षेति नभए पनि बस पूर्णरुपमा जलेर नष्ट भएको छ । बसमा आगो लगाएको ठाउँ नजिकै शकासपदवस्तु पनि भेटिएको छ ।
नवलपुरमा ट्क र जिपमा बम प्रहार एक घाइते
विप्लव समूहका कार्यकर्ताले नवलपरासीको नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारपछि ट्क सडकबाट खसेर जेलेको छ ।
बम प्रहारबाट ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
त्यस्तै मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विहान २ बजेतिर बम हानेको प्रहरीले जनाएको छ । कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ ।
विप्लव समूहका कार्यकर्ताले देशका धेरै ठाउँमा पेट्रोल बम प्रहार गरिरहेका छन् । धेरै ठाउँमा डक छेउमा शंकास्पदवस्तु राखिदएको पनि भेटिएको छ ।