अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेश बढी प्रभावित, लाखौको बालिनाली क्षति, दर्जनौ बस्ती विस्थापित


काठमाडौं । आइतबारदेखि परेको लगातारको अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेश बढी प्रभावित भएको छ । वर्षासँगै आएको बाढीपहिरो र डुवानका कारण सुदुरपश्चिम प्रदेशमा लाखौ बराबरको बालिनालि नोक्सान भएको छ भने दर्जनौं घर परिवार विस्थापित भएका छन् ।

वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका कयौं क्षेत्रमा  उनीहरुले लगाएको तरकारी र धान बाली  नष्ट भएको छ । कति ठाउँमा स्थानीय बाढीमा फसेका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका ४ खिमडीका लोकबहादुर बुढा मगर र उनकी श्रीमती बिरमादेवी बुढा मगर बाढीमा पसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको जिल्ला प्रशाशन कार्यालय कैलालीले जनाएको छ।

उता डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीमा अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा परी ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५  ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

उनीहरु सेती नदीको छेउमा बस्दै आएका थिए । त्यस्तै सेती नदीको बाढीले पुल छोएको छ । अहिले प्रहरीले आवत जावत पनि बन्द गरेको छ । बाढीले पुल छोएपछि अछाम र बाजुराको आवत जावत  बन्द भएको छ ।

उता कञ्चनपुरको महाकाली नदिमा पनि पाँच जना फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।

उनीहरुको उद्धारका लागि हेलिकप्टको पहल भइरहेको छ । अहिले पनि लगातार पानी परिरहेकाले बाढीमा फसेकाहरुको उद्दारमा समस्या भइरहेको छ ।

वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा पहाडी क्षेत्रमा भएको क्षतिको एकिन विवरण आउन सकेको छैन् ।

आइतबारदेखि परेको लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा आवत जावतमा पनि समस्या भइरहेको छ । कति यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । खराब मौसमका कारण हवाई उडान पनि प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार