काठमाडाै । ३३ किलो सुन तस्करी प्रकरणका एकजना आरोपित हरिशरण खड्का यूएईमा पक्राउ परेका छन् । केहि दिनअघि खड्कालाई प्रहरीले यूएईमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय काठमाडौंले बताएकाे छ ।
४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । खड्काको नेपाल घर काभ्रे हो । बैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला केहि वर्षयता भने जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
२०७३ पुस २१ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्का पनि संलग्न रहेको बताएको थियो । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।
खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।