काठमाडौंको फोहोर तत्काल व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहरलाई तत्काल ब्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

विश्व स्वास्थ्य दिवसको अवसर आज काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंका विभिन्न सडकहरुका फोहोर थुपारिएकाले तत्काल ब्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने समेत बताए।

काठमाडौंमा फोहोर व्यवस्थापन एक समस्याकै रुपमा रहेकाले यसलाई ब्यवस्थापन गर्न फोहोरबाट बिजुली र ग्याँस निकाल्नुपर्नेमा जोड दिए । उनले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए । उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए । यसका लागि विदेशी पनि लगानी गर्न तयार रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो देश बनेको समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार