
काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर मेयर वादेले आफुसहित आफ्नो परिवारले नै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनको परिवारका सदस्यसहित ४ जना एमाले संगठित सदस्य छन् । आफु यस पटक पनि मेयर पदको आकांक्षी रहेको र नगरवासीको पनि चाहना हुँदा हुँदै अर्केलाई मेयरको उम्मेदवार बनाएकोप्रति वादेको तिर्व असन्तुष्टी छ । एमालेले मेयरमा अहिले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई मेयर पदको उम्मेदवार बनाएको छ ।
उनले एमालेभित्र छलछाम, धोका, अन्तर्घाती काम भएकोले आफू सो दलभित्र बस्न नसक्ने भन्दै राजीनामा गरेको बताए ।
मेयर वादेले पार्टीका नगर इन्चार्ज रञ्जितकारले वैशाख ९ गतेसम्म सल्लाह गरेर पुनः आफूलाई बनेपा मेयरको उम्मेदवार बनाउँछु भनेर चण्डेश्वरी माईको कसम खाएर धोका दिएको आरोप लगाए । वादेले पत्रकार सम्मेलनमा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको चर्को आलोचना समेत गरेका थिए । वादे बनेपा एमालेका पुराना नेता हुन् ।










