
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आज सामाजिकसंजालमार्फत काठमाडौंवासीलाई आग्रह गर्दै मेयर बालेनले आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएकाले सहयोगको अपील गरेका छन्।
‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनस् एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ’, बालेनले सामाजिसंजालमा लेखेका छन् ।
उनले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएकाले यसको दिर्घकालिन समाधान महत्वपुर्ण रहेको बताए ।
‘तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन्’, उनले स्टाटसमा लेखेका छन् ।
काठमाडौंको फोहोर सिसडोल र बन्चरेडाँडाका स्थानीयले थुर्पान नदिएपछि लामो समयसम्म महानगरको फोहोर उठ्न सकेको छैन ।
आजदेखि फोहोर उठाउन सुरु भएपनि बन्चरेडाँडाका स्थानियले अवरोध गर्दा फेहोर लगेर गएका गाडीहरु बिचबाटो मै रोकिएका छन् । फोहोर ब्यवस्थापनबारे हिजो सहरी विकास मन्त्रालयमा मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच सर्वपक्षीय छलफल गरी सहमति जुटेको थियो । सोहि अनुसार आजदेखि काठमाडौंको फोहोरउठाउन सुरु गरिएको थियो ।













