
काठमाडौँ । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि संसद्मा चुनाव हुँदैछ । गोटाबाया राजापाक्षको राजीनामापछि नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेकोहो । राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दिसानायकेबीच प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ दल एसएलपीपीले विक्रमासिंघेलाई उम्मेदवार बनाएपछि उनको संभावना बलियो देखिएको बताइन्छ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । त्यसपछि अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको बताइन्छ। संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल समेत घोषणा गरेका छन् ।
रनिलले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सामाजिकसंजालमार्फत सहयोगको अपिल गरेका छन् ।
तर, श्रीलंकामा आर्थिक संकट उत्पन्न गर्नमा रनिल पनि जिम्मेवार रहेको भन्दै प्रर्दशनकारीहरुले उनको पनि राजीनामा मागेका छन् ।
नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । बुधबार हुने चुनावमा २२५ जना सांसदले भोट हाल्नेछन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुनेछ ।
श्रीलंकाली संसद्मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) को ५४ सांसद छन् । एसएलपीपीलाई यूएनपीको १ र ईपीडीपीका २ जना सांसदको समर्थन रहेको छ । नयाँ राष्ट्रपतिका लागि सत्तारुढ र प्रतपिक्षी दलबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ ।











