
काठमाडौं । म्यानमारको सैनिक सरकारले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा सरकारले मृत्युदण्ड दिइएको हो।
म्यान्मारको अदालतले गत जुनमा उनीहरूलाई मृत्युदण्डको घोषणा गरेको थियो । उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका थिए । मृत्युदण्डको फैसलाप्रति मानवअधिकारवादी संस्थाहरूले समेत कडा आलोचना गरेका थिए ।
प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको निर्वाचित सरकारलाई अपदस्थ गरी डेढ वर्षअघि शासनसत्ता हातमा लिएको म्यान्मारको सैनिक सरकार प्रजातन्त्रका हिसावले झन् क्रुर बन्दै गएको छ । सैन्य ‘कु’ को विरोधमा प्रदर्शनमा उत्रिएका जनतामाथि सैनिकले गोली चलाएर सयौंको ज्यान लिइसकेको खबरहरु आइसकेका छन् ।
प्रजातन्त्रवादी नेतृ सूचीलाई सैनिक सरकनरले नजरबन्दमै राखेको छ । उनीमाथि भ्रष्टाचार गरेको लगायतका आरोप लगाइएको छ । यदि आरोप प्रमाणित भएमा उनलाई १५० वर्षसम्म जेल सजाय हुनसक्ने छ ।
म्यानमारको सरकारी समाचार संस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको बताएको छ । यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।
मृत्युदण्ड दिइएको समाचार सार्वजनिक भएपछि अहिले म्यानमारको सैनिक सरकारको आलोचना सर्वत्र भइरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मृत्युदण्ड दिने निर्णयबाट व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको भन्दै आलोचना गरेका छन् ।
सैनिक सरकारविरुद्ध गठन गरिएको छाया सरकारले पनि मृत्युदण्डको आलोचना गर्दै सैनिक शासकलाई सजायँ दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

फोटो: प्रजातन्त्रवादी नेतृ आङ साङ सूची











