
बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। गीताका श्रीमान गएराति मात्रै भारतको पिथौडागढबाट घर फर्किएको र उनलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अवस्थीले बताए।
घाँस काट्न गएकी स्थानीय महिलाले रुखमा झुण्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो । प्रारंभिक बयानमा श्रीमान पुष्करले आफू निदाएकाले घटनाबारे केही थाहा नपाएको बताएका छन् ।












