काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव बोकेको हेलिकोप्टर ताप्लेजुङ्गबाट उडेको छ ।
घटनास्थलबाट सबै शवहरु संकलनको काम विहानै सकिएको भए पनि मौसममा सुधार नहुँदा लास काठमाडौं ल्याउन कठिनाई भएको थियो । मौसममा केहि सुधार आएपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट केहि बेर अघि लास बोकेको हेलिकोप्टर काठमाडौंका लागि उडेको हाे ।
शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने बताइएको छ ।
मन्त्री अधिकारीको शव भने गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा समेत दिएको छ ।