
डोटी । आज बिहान डोटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । आज बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन् । घाइते ५ जनाको उपचारका लागि जिल्ला अस्पताल भइरहेको डोटीका डीएसपी भोला भट्ट ले जानकारी दिए।
भूकम्पको धक्काले दर्जनौं घरहरु भत्किएका र चिरा परेका छन् । प्रभावित गाउँमा अहिले नेपाली सेना, प्रहरी र स्थानियबासीले उद्धारको काम गरिरहेका छन् ।
भुकम्पको धक्का सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।











