काठमाडौँ । सासंद रेशम चौधरीलाई गरिएको जन्मकैदको फैसलाबिरुद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बुधबारको संसद बैठक अवरुद्ध गरेको छ ।
प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख महराले राजपाका नेता राजकिशोर यादवलाई बोल्ने समय दिएका थिए ।
नेता यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गरे ।
“लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन उनले भने, आफूहरुले प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गरिरहेका छौं, तर सरकार आलटाल गर्दै गम्भीरतापूर्वक लिएको छैन, त्यसमा हाम्रो आपत्ती छ ।”
तत्कालीन आन्दोलनरत मधेसी मोर्चा र शेरबहादुर देउवाको नेतृत्वको सरकारबीच थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानबीनका लागि आयोग गठन गरिएकामा तीन हजार २६४ मुद्दासहित समेटिएको प्रतिवेदन बुझाइएको थियो ।जुन सार्वजनिक गरिएको छैन ।
आफुहरुको माग वेवास्ता गर्दै आएको सरकारले आफ्नो चरित्र उदाङ्गों हुने डरले प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाउँदै नेता यादवले थारु र मधेस आन्दोलनलाई बदनाम गराउने र भ्रम छर्ने काम भएको बताए ।
यादवले राखेको उक्त विषयलाई आफुले सरकारलाई निर्देशन गरिसकेको भन्दै सभामुख महराले राजपाका नेताहरुलाई आफ्नो स्थानमा बसेर सदनको बाँकी काम सञ्चालन गर्नमा सहयोग पु¥याउन आग्रह गरेका थिए । तर, राजपाका सांसदले उठेर विरोध जनाइरहेकाले सभामुख महराले प्रतिनिधिसभाको पहिलो बैठक १० मिनेटका लागि स्थगन भएको घोषणा गरेका थिए ।