
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेको छ । आज प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्न माग गरेका हुन्।
प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका छन्।
सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान हुने भएकाले नाम संशोधन गरिनुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राखिनुपर्ने उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सभाको लोगो सान्दर्भिक नभएको भन्दै प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।











